मैले छोएको सिन्दूर चल्दैन…’

सरोजदिलु विश्वकर्मा

सरोजदिलु विश्वकर्मा

काम्रेड्नीसंगको भेटघाट मेरो पुरानै हो । त्यतिवेला उसले मेरो जात बारेमा थाहा पाएकी थिईन । त्यसैहुनाले पहिलो भेट्घाटदेखि नै उसले ममाथि नजर लगाउँन थालेकी थिई, मुस्कान बाढ्न थालेकी थिई । साथी–संगीनीहरुसंग मस्किन्थी, रमाउथी, अलि उत्ताउली देखिन्थी अनि जवानीलाई मेरा अगाडि अभिब्यक्त गर्न थालेकी थिई । म पाजीलाई पनि ऊ मन नपरेको कहाँ नहोर ! तर हिनतावोध हुन्थ्यो, किनकी म तल्लो  जातको, ऊ चैं मल्लो जातकी रे । एकदिन नेता कमरेड् भाषणमा ताली ठोक्ने क्रममा हामी संगै बस्यौं । दाँया ऊ नै थिई, वाँया म । अलि लजाएकी, सर्माएकी, हसीली, रसीली, केही बोल्न खोजिरहेकी । त्यसपछि मैलै ऊसंग माया गांस्ने साहस गरेँ । ऊ पनि उत्तिकै उत्सुक र आतुर थिई, शायद । तर दुवैले कसरी कहाँबाट शुरु गर्ने ? दिनानुदिनको भेटघाटको क्रममा हामी कुम जोडेर जुठोपीरो मिसाई खानेसम्मको तहमा पुग्यौं ।

तिनका पुर्खाले मेरो निधारमा लेखिदिएको ‘दलित’ जाति भनेर थाहा पाएपछि उस्का अनुहार क्रमशः ओईलाउन थालेका थिए । मेरो पुरा नाम सुनेर उस्का नाक–मुक खुम्चिदै गएका थिए । यद्यपि, धुर्तताका माहिर त्यो समुदाय, जसका पुर्खाले धुत्र्याई गरेर यो मुलुकलाई कहिल्यै अगाडि बढ्न दिएन । आफ्नो स्वार्थका लागि सकेसम्म अहंकारले जित्ने, नसके चिप्लोचाप्लो बनिदिने, अर्काको स्वार्थको लागि पत्थर गलेर पानी होला तर उनीहरु एक अंश गल्न नजान्ने, भाषणमा, लेखाईमा, पढ्न र पढाउनमा कुशल तर ब्यवहारमा पुरातनबाट रति सच्चिन नजान्ने समुदायकी चेली, ऊ । तरपनि उसले नाटकीय हाँसोमा म तिर हेर्दै भनेकि थिई– “ए, के फरक पर्छ र ! अहिलेको जमानामा पनि यो कथित जातपात….!! हामी साम्यवादको महान लक्ष्य बोकेर एउटै यात्रामा सामेल भएका, तपाई हामी त फराकिलो हुनुपर्दछ । हाम्रो फेमिलीमा त यस्तो जातपात मानिदैन…. ।’ उसका रसिला र कसिला वाक्यांशले ममा झिनो उर्जा भरिदियो– ऊसंग माया लाउने र जुनी काट्ने । अनि एकोहोरो प्रेम क्रमशः गहिरिदैं गयो ।

ऊ त महिला आन्दोलनकर्मी र कलमकार पनि हो, राजनीतिक नेता पनि, सामाजिक–सांस्कृतिक रुपान्तरणको पक्षमा भाषण पनि ठोक्न जानेकी । नागरिक समाजकी अगुवा कार्यकर्ता पनि । जातपात र धनी–गरिव नमान्ने साम्यवादको अग्रपथमा लम्किरहेको हाम्रो गौरवशाली पार्टीकी कार्यकर्ता, काम्रेड्हरुकै छोरीचेली ! सामाजिक परिवर्तनका लागि संगै लड्दै गरेका हामी सहयात्री । म पनि सानो–मसिनो लेख्ने मान्छे, थोरवहुत राजनीतिमा लागेको । अनि हामीवीचमा विचार, पार्टी अनि एउटै संगठनका कार्यकर्ताको साईनो पनि गाँसियो । म पनि के कम्– दलित अधिकारवादी, एन्जीओ, आईन्जीओ सबै खाएको । अनि शुरु भयो– यी मल्लो जातकी मेमसाहवसंगको चक्कर । हामीवीच च्याट्, एस्एम्एस्, फोन र रेष्टुरेन्टको क्याविन, चियागफ धेरैपल्ट भए । एकदुईटा कार्यक्रममा त उसले जातीय विभेद, सामन्तवाद र दलालहरुकाविरुद्ध अति सान्दार भाषण पनि नदिएकी होईन । एकदुईवटा अनौपचारिक गफमा हामीले ठट्यौली गलफ्रेण्ड बोईपे्रmण्डको साईनो नललाएको पनि होईन । कतिपय स्थानमा साथीहरुले लोग्नेस्वास्नीको आरोप पनि लगाइदिए । कहिलेकाँही त भन्थी– ‘सरोजजी ! दलितभित्र तपाईहरुजस्ता होनहार योद्धाहरु जन्मिसकेका छन्, अब त यो मुलुक हाँक्ने तपाईहरुको पालो हो…। हामी साथमा छौं ।’यस्तै यस्तै । बाऊ, मैले खोजेकै सहयात्री ! समान र सहअस्तित्वमूलक आधुनिक समाज निर्माणको मार्ग बुझ्ने यस्ती पो त, मेरी जीवनसाथी ! मधेसी र जनजातिहरुले आआफ्नै राज्य मागिरहँदा हामी दुवै मिलेर अखण्डताको विरासत किन नबनाऊँ !! झन्, उस्का उसका मुखारविन्दबाट र भाषण–श्रृंखलाहरुमा जातीय विभेदविरुद्धका शब्दहरु प्रष्फुटन हुँदा म त उप्रति चुर्लुम्मै डुबिसकेछु । राजनीतिक आस्था पनि एउटै : उसका काका–बढा त सर्वहाराका पक्षमा दुइचारपल्ट जेल परेका, पञ्चायती पुलिसका दुइचार डण्डा खाएका काम्रेडहरु हुन् रे । उसको घरको आर्थिक स्थितीसमेत पहिलेपहिले उनका बाबुवाजेले नकुम्ल्याएका भए मेरै जस्तो हो, सायद । शारीरिक रुपरंग र ब्यक्तित्वमा पनि म ऊभन्दा कम चैं होईन, फिल्ममा हुने हो भने दुइचारवटी रेखा थापाहरु पनि मसंग छम्छम् नाच्दा हुन् । अतः म सत्प्रतिशतः विश्वस्त थिएँ– उसलाई जीवनसाथी बनाउन ।

एकदिन मनले जितेरै उसलाई रेष्टुराँमा बोलाएँ, उसले ईच्छाएका तजवीजहरु खाने आग्रह गरेँ । शहरीया र आधुनिक वहाना यस्तै हो : उसले आग्रह स्वीकारी । चिकेनचिल्ली, मःमः, चाउमिन, चिसोतातो सवै आए । मैले कुरा शुरु गरेँ– ‘विवाह कहिले खुवाउने हो त ?’ उसले भनी– ‘खै कोसंग विहा गर्ने र ! हेरीदिनु न त एउटा ।’ठट्यौली गरी । ‘मैले हेरेको मन पर्छ त ?’ फेरि मैले छड्के सोधें । ‘ठिकै छ, राम्रै चाहेको हो भने राम्रै त होला नी ।’त्यसपछि हिम्मत गरेरै उथलपुथल् भएका मनभित्र मेरा वहहरु उस्का अगाडि राखेँ– ‘हुन त तपाईको लागि लायक होला या नहोला, तर मैले तपाईको लागि योग्य वर खोजिसकेको छु ।” “को हो त्यो अभागी….?” ऊ अलि भयभित देखिई । मैले तपाईंको लागि खोजेको भाग्यमानी केटा, !! म नै हुँ ।’महिनौदेखिको राज खोलिदिएँ । तर ऊ एक्कासी रोकिई, खाईरहेका उस्का काँटा–चम्चा प्लेट्मा खसे । एकोहोरो हेरिरही । अनि ओठ् कमाउँदै बहाना बनाई– ‘मेरो त अल्रेडी वोईफ्रेण्ड छ ।’ उसको धुर्ततालाई नबुझ्ने म लाटो थिईन । फेरी नम्र निवेदन गरेँ– ‘दिसइज् नट फनी, भेरी सिरियस्….।’ गम्भिर भएर उस्को हात समाएँ । तर मेरा हातहरु झट्कार्दै ऊसले प्रतिवाद गरी– ‘तपाईले कसरी यस्तो कुरा सोच्नु भयो ?’ मैले फेरि भने– ‘कसैलाई मनमा सोच्नु, मलाई श्रद्धा गर्नेसंग माया गर्नु गल्ती जस्तो त मलाई लाग्दैन । मलाई तपाई यतिविघ्न सम्मान गर्नुहुन्छ, सोही सम्मानको परिणामतः मैले आफूलाई तपाईंप्रति समर्पण गरिदिइसकेको छु । हाम्रो माया समानताको छलाङ् मार्ने कडी मात्र हुने होईन, यसले नयाँ नेपाल निर्माणमा नयाँ पुस्तालाईसमेत नयाँ उर्जा थप्नेछ । त्यसैले प्लीज….!’ विनम्र शब्दभावले फेरिपनि छाती खोलेर उसलाई आव्हान गरेँ– आई लभ यू ! आई लभ यू !! ’ ‘नो, इम्पोसिवल् । तपाई र मेरो विवाह सम्भव छैन…।’ उसले सिधै नकारी । ‘किन ? कहाँनेर नमिल्दो छ ?? तपाईको लागि म कहाँनेर अयोग्य भएँ ?? एउटै विचार र बाटोका सहयात्री, एउटै आस्थाका वन्दी हामी, अव केले रोक्छ हामीलाई…??’ मैले उसलाई यस्ता धेरै प्रश्नहरु सोधीरहें ।

सम्मानको वदलामा विभिन्न वहानामा वारम्वार तिरस्कार मात्र हुन्छ भने अभिलाशीको धैर्यता टुट्छ र उसले आफ्नो अस्तित्वको लागि हिंसालाई रोज्नैपर्ने हुँदोरैछ । “चट्याङ्ग…” अनि उसको गालामा एक थप्पड हिर्काएँ र भने– ‘हामीविचमा केको विषमता ? कहाँ छु त म तपाईंभन्दा कम् ? के छ त मसंग अयोग्यता ?? तपाई पनि हामी जस्तै जातिवाद् र रुढीवाद्को जरो काट्दै समानतामूलक समाज स्थापना गर्नै हिडेकी सहयात्री हो भने कहाँ छ त दुरी ??’ ‘के आफ्ना भाषण र विचारहरुलाई युरोप र अमेरीका छिर्ने वा हामीलाई राजनीतिक पद प्राप्त गर्ने भोट बैंक मात्रै बनाउन खोज्नु भएको हो ?’ या मलाई वेईमान् देख्नुभो त ??’ म सोधीरहेँथे, तर उ चुपचाप थिई । ‘त्यसोभए जातपात मिल्दैन ? तपाईका काम्रेड् बाबु–आमाले दलितको छोरोसंग संगै कुम् जोडेर खाँदा–पिउँदा हुन्छ, तर घरभित्र चैं नल्याएस्, जात जाला है भन्नु भा’छ की ??’ “कसैलाई मन पराउने र मन पराएकोलाई माया दिने अधिकार हनन गर्नुभो कमरेड ! हामी संगठनलाई जीवन भनेर साम्यावादको लक्ष्य बोकेर हिडेका छौं । प्रत्येक पाईलापाईलामा समानतामूलक र विभेदरहित समाजको खाका बोकेर हिडेका हौं । तपाईले पनि समानताको धेरैपल्ट भाषण ठोक्नुभएको छ । जाति र वर्गविहिन समाजको निर्माण तपाई–हामी अन्तरघुलन हुने हाम्रो साझा अभियान हो भने मेरो प्रस्ताव तपाईंले स्वीकार्नै पर्दछ ।”“बुझ्नोस्, हाम्रो प्रेमले नयाँ र श्रृजनशील उर्जावान पुस्ता जन्माउने छ, यो विज्ञानको नियम पनि हो । त्यो नयाँ पुस्ताले यो समाजको सांस्कृतिक विकृती बढार्दै सामाजिक दुरीलाई अझ घटाउनेछ । त्यसपछि हामी स्वतन्त्र, मानवसम्मानको स्वर्णिम युगतिर प्रवेश गर्नेछौं । के तपाई–हामीले खोजेको रुपान्तरण पनि यही होईन र ? तपाई–हामीले भाषण गर्दै आएको यथार्थ संसार यही थिएन र ?? त्यसो भए त्यो स्वर्णिम युगको थालनी गर्न हामीवीचमा केको दरार ….?? यो दरारै दरार भरिएको मानसिकताले कसरी हुन्छ, जातीय र वर्गीय विभेदको अन्त्य ? समाजवादको स्थापना कसरी हुन्छ ? कसरी साम्यवादमा पुगिन्छ कमरेड ???”

ती आवेगहरुलाई थेग्न बल्ल एक वाक्य बोली उसले– “इम्पोसिवल सरोजजी !” ऊ नाजवाफ भएर शुण्यतामा हराइसकेकी थिई । जवाफ दिने उस्का ओठहरु नीलानीला भईसकेका थिए । दाँतहरु हरिया हुँदै र काँप्दै थिए । साम्यवादी शिक्षा ग्रहण गरेको उसको मस्तिस्कमा पुराना पण्डितहरु सलवलाएको वाहिरै देखिनथालेका थिए । म बोलिरहेकै थिएँ, ऊ जुरुक्क उठी र अन्तिम वाक्यांशमा भनि– ‘समानता भन्दैमा विवाह नै हुनुपर्छ भन्ने होईन नी । मेरा पनि बाबुआमा छन्, समाज छ, छुट्टै इच्छा–आकांक्षाहरु छन् । परिवर्तन भनेको बिस्तारै हुने हो, तपाईंले भन्नासाथ हुँदैन । सो, आई कान्ट एसेप्ट यू, द्याट्स अल…।’फटाफट् बाहिरिई अनि उँधोमुन्टो लगाएर कुलेलाम् कसी ।

म त्यहीनेर घोरिइरहेँ– ‘आशयित विभेद ! ओफ्, माया गर्नु नै समानता होईन भने के नकार्नु चै समानता हो त ?? परिवर्तनका लागि समयसंग संघर्ष गरिरहेका हामी युवा, अझै किन पुरातनाको बन्दी भइरहेका छौं ? अनि उत्तर भेट्छु– पहिले श्रम, शीप र रगत चल्थ्यो तर पानी चल्दैनथ्यो, आजकाल वाहिर पानी, नानी, चिकेन, मटन, जाँड सवै चल्छ, तर ब्यवहारमा तिनका मानसिकताभित्रको गहुँतपानीले हाम्रो पवित्र सिन्दूर चल्नै दिदैंन ।’मैले धेरैवेर गम् खाएँ ‘विभेद सानामा होईन ठूलामा छ । वालवालिकामा होईन, युवामा छ, गरिबमा होईन, धनिमा छ । भेदभाव अनपढ् अशिक्षितमा होईन, पढेलेखेका पिटी वुर्जुवाहरुमा छ ।’ अन्ततः वर्षेनी आउने मार्च २१ सिद्धिन्छ ! …म यिनै कल्पनाहरुबाट बौरन्छु – झल्यास्स !

  • सरोजदिलु विश्वकर्मा
Be Sociable, Share!

Shortlink:

Leave a Reply